Rule 95
सामुदायिक विद्यालयको शिक्षकको नियुक्ति
(१) आयोगबाट नियुक्तिको लागि सिफारिस भएको उम्मेदवारलाई जिल्ला शिक्षा अधिकारीले सिफारिस प्राप्त भएको मितिले तीस दिनभित्र नियुक्ति दिनु पर्नेछ । त्यसरी नियुक्ति पाएको शिक्षकले नियुक्तिपत्र बुझेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर हुनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्ति हुनु अगावै सम्बन्धित उम्मेदवारले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र अनुसूची–१४ बमोजिमको ढाँचामा निरोगिताको प्रमाणपत्र जिल्ला शिक्षा अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिइने नियुक्तिपत्रमा शिक्षकले पाउने तलब र अन्य सुविधा पाउने भए सो समेत खुलाएको हुनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम नियुक्तिपत्र दिएपछि जिल्ला शिक्षा अधिकारीले त्यस्तो शिक्षकलाई अनुसूची–१५ बमोजिमको ढाँचामा शपथ गराई निजको फोटो र अन्य विवरण आफ्नो कार्यालय, शिक्षक किताबखाना र सम्बन्धित विद्यालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम नियुक्त भएको शिक्षकले नियुक्ति पाएको मितिले तीन महिनाभित्र अनुसूची– १६ बमोजिमको ढाँचामा वैयक्तिक तथा नोकरी विवरण फाराम तीन प्रति भरी सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको फाराम जिल्ला शिक्षा कार्यालयले शिक्षक किताबखानामा प्रमाणित गर्न पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त भएको फाराम शिक्षक किताबखानाले प्रमाणित गरी एक प्रति आफू कहाँ राखी एक प्रति जिल्ला शिक्षा कार्यालय र एक प्रति विद्यालयमा राख्न लगाउने गरी सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।